top of page

My Blog

अलबिदा मन्डेला ! तिम्रो त्याग र बलिदानीलाई सलाम

मन्डेलाले आफ्नो २८ बर्से जेल जीवन शुरु गर्दा मेरी आमाले मलाई यो धरतीमा जन्म दिई सकेकी थिईनन्। तर मैले मन्डेलाको संघर्श, बलिदानीको जीवन वीरगाथा सुन्दै, पढ्दै हुर्किने मौका पाएँ। किशोराबस्थामा मैले सोच्थें आँखा चिम्म गरेर अनि मन्डेलाको अनुहार र उनको घुम्री परेको कपाल सम्झिदै उनलाई खुब सम्झिन्थें। साँच्ची, उनी मेरालागि सबैभन्दा 'ह्यान्ड्सम हिरो' थिए- जीवनरुपी चलचित्रका सच्चा नायक। सन् १९९० को फेब्रुवरी ११ मा जब मन्डेला जेल जीवनबाट मुक्त भए त्यतिखेर म आफ्नो देशमा खोसिएको स्वतन्त्रता र प्रजातन्त्र पुनर्बहालीको अन्तिम लडाईंको मोर्चामा सकृय थिएं। मैले अन्याय र अत्याचारको बिरुद्धमा लड्ने प्रेरणा उनै मन्डेलाको जीवन संघर्सको गाथाबाट पाएको थिएं।

मैले मन्डेलाको अबसानपछि युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) र 'लाफा' पत्रिकामा सन् १९९४ को अङ्कमा मन्डेला दक्षिण अफ्रिकाको काला जातिको प्रथम निर्बाचित राष्ट्रपति भएपछि मन्डेलाको देश दक्षिण अफ्रिकामा भएको बिभेदबारे यस्तो लेखेको थिएं: मानबीय स्वभाव यती निर्दयी नहुँदो हो त शायद छालाको रंगको आधारमा बस्तीहरु अलग अलग पारिन्नथे, पार्क, होटेल, रेस्टुरेन्ट, बिद्यालय, प्रशासनहरु प्रिथक प्रिथक बनाईन्नथे। र, आफ्नै भूमिमा दोश्रो दर्जाको नागरिक, दास र गुलाम भएर बस्नु पर्ने, अमानुसिक जेल जीवन, निर्बासन र मृत्‍यूदण्डको भागीदार बन्नु पर्ने थिएन। हो, मन्डेलाले यस्तो निरंकुश, तानाशाही जातिबादी रंगभेद (apartheid) बिरुद्ध आवाज उठाए। सोही कारण उनले १९६४ देखि १९९० बीच २८ बर्ष जेल सजाय भोग्नु परेको थियो। तर उनले श्वेत (गोरा) जातिको जातिबादी अन्याय, अत्याचार, जालझेल र यातनाको कुनै प्रबाह नगरी निरन्तर जेल भित्र र बाहिर छँदा संघर्श गरिरहे जसको फलस्वरुप ३४२ बर्ष लामो रंगबादी कालो युग र ९० बर्षदेखि एक छत्ररुपमा चलेको रंगबादी जातिबादी गोरा शासनको अन्त्य गर्न उनी र उनको अफ्रिकी राष्ट्रिय कङ्ग्रेस सफल भएको थियो। साउथ अफ्रिकाको झन्डै ५ करोड जनसंख्याको ७५ प्रतिशत काला जातिको बाहुल्यता हुँदाहुँदै १३ प्रतिशत गोराहरुले यसरी सदियौं शासन गर्नु एक एतिहासिक ट्रुटी थियो जुन मन्डेला र उनको पार्टीले दशकौंको संघर्श र हजारौंको बलिदानीपूर्ण आन्दोलनबाट सच्याउनु परेको थियो। यो त्यस्तो बिभेद भएको देश थियो जहाँ मन्डेला सन् १९९० को फेब्रुवरी ११ मा २८ बर्षको जेल जीवन भोगेर निस्कदा गोरा जातिका जनता ९९ प्रतिशत साक्षर थिए भने काला जातिका शिर्फ ५० प्रतिशत। गोरा जातिका मान्छेको औसत आयू ७२ बर्ष थियो भने काला जातिका जम्मा ६१ बर्ष। र, जहाँ गोरा जातिको आम्दानी काला जातिको भन्दा १३ गुणा बढी थियो। मन्डेलाले जेल जीवनबाट निस्केर २४ बर्ष खुल्ला उन्मुक्त जीवन जिउँन पाए। आज दक्षिण अफ्रिका द्रूत प्रगतिको बाटोमा लम्किदो छ। उनले देखाएको सहमति र क्षमादान, शान्ती र सहकार्य, सद्भाब र हार्दिकता आज विश्वकासामू अनुकरणीय मार्गदर्शन बन्न पुगेको छ। मन्डेलाको पार्थिब शरीर अब रहेन तर उनी हाम्रो मनमा बाँची रहनेछन्। र, उनी यो धरतीमा मानब बस्ती रहँदासम्म लाखौंलाख बर्षसम्म पनि बाँची रहनेछन्। अलबिदा मन्डेला !

Featured Posts
Recent Posts
Archive
bottom of page