जीवन एक उत्सव हो, किन अपशकुन हुने र सुतक बार्ने ?
मैले मेरा जीवनका थुप्रै वर्षहरू कहिले आफू प्रवासतिर बरालिंदाको कारण भाईटीका लगाउन पाएको छैन भने कहिले दिदीहरूको प्रवास वसाईको कारण निधार खाली राख्नु परेको छ। झण्डै ८-१० वर्ष चाँही १३ दिने भाईखलकको आफन्ती तिहारको १३ दिनभित्र मरेको कारण भाईटीका लगाउन जुठो बार्नु परेको छ। तिहारकै मुखमा ७ दिनभित्र भाईखलककै सुत्केरी भएमा सुतक बार्ने र भाईटीका नलगाउने चलन पनि नेपाली समाजमा छँदैछ। म त यस्ता कुचलनलाई हैट भन्छु, जीवन एक उत्सव हो, किन अपशकुन हुने र सुतक बार्ने ?
न्यू योर्कका एक जना मित्रले भाईटीकाको १ दिन अघि फोनमा भने- “नेपालमा बुहारीको डेलिभरी हुने डेट तिहारकै आसपासमा दिएको रैछ, लक्ष्मी पूजा गर्ने साँझसम्म त बँचियो।” यो कुराले म झल्यास्स भएँ- हाम्रो नेपाली समाजको रूढीबाद भनेकै यस्तै कुराहरू पो हो लौ। जस्को घरमा एउटा नयाँ जीवनको प्रवेश हुँदैछ, खुशीयालीमा अझ धुमधामसंग हर्षबढाईं गर्ने कि सुतक बार्ने? यो कस्तो सुसंस्कार हो? यस्ता रूढाबादी जरैबाट फाल्नु पर्ने कुचलन हामीले विश्वकै अत्याधुनिक मुलुक अमेरिकामा आएर पनि फाल्न सकिरहेका छैनौं कठै।
अझ म त भन्छु- म मरेको दिन म जन्मिएको दिन जत्तिकै उत्तिकै महत्वपूर्ण क्षण हो, तेसैले मैले जिएको सिंगो जीवनको अन्तिम उत्सव मनाईनु पर्छ मेरो अनुपस्थितिमा। मेरो कारण रूने र जुठो बार्ने त कुरै छैन। रून यसकारण हुँदैन किन कि मैले एउटा सिंगो पुरा जीवन पो जिएर जाँदैछु त गाँठे, रमाउनु पर्दैन? अर्को कुरा, मानौं, म त मरेर गएँ गएँ, आचीसाची धुनुपनि परेन, झनै चोखो हुने भएँ, अनि बाँचेका भाईखलक चैं जुठो? हैट, कसले यो नभा’को भाउँतो लगाईदियो हामीलाई जुठो बार्ने? जीवनमा उत्सवैउत्सव देख्ने मान्छे हूँ म। मेरो बेहोसीमा होश नगुमाउनू तर मेरो हाँसोमा तपाई हाँस्दा बेफाईदा कहाँ छ?
सबैमा शुभ-दीपावली तिहारको कामना !
-प्रदीप परियार थापा मगर जर्सी सिटी, न्यू जर्सी अमेरिका